
बेलबारी । माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा बिराटनगर फुटबल क्लब र सतिसाले युनियन उपाधिका लागि भिड्ने पक्का भएको छ ।
बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा बिराटनगरले डाँगीहाट फुटबल क्लबलाई २–१ ले हराउँदै सतिसालेसँगको फाइनल भेट पक्का गरेको हो । नक्सलबारी खेलमैदानमा भएको दोस्रो सेमिफाइनलतर्फ बिराटनगरले खेलको शुरुवाततिर गरेको दुई गोल नै जितका लागि प्रर्याप्त बन्यो ।
बिराटनगरको जितमा खेलको १३औं मिनटमा शिशिर लेखीले पहिलो गोल गरे भने लगतै १७औं मिनटमा साइमन लिम्बुले दोस्रो गोल गरे । जुन दुई गोल नै बिराटनगरलाई फाइनल पुर्याउन प्रर्याप्त बन्यो । उता पराजित डाँगीहाटका लागि ६९औं मिनटमा बिक्रम धिमालले एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् ।
खेलको म्यान अफ द म्याच भने बिराटनगर कै गोलरक्षक तथा कप्तान पुर्ण चेम्जोङ घोषित भए । उनलाई बेलबारी नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष चक्र खुलालले पुरस्कृत गरे ।
अब माघ १ गते बिहीबारका दिन हुने फाइनल भिडन्तमा सतिसाले युनियन र बिराटनगर फुबल क्लब भिड्ने पक्का भएको छ । नेपाल मगर संघ, बेलबारी–१ नक्सलबारी मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ ।