International मेसीको १०००औं खेल, ७८९औं गोल
गोलनेपाल

काठमाडौं (एजेन्सी) । सम्भवतः करियरको आफ्नो अन्तिम विश्वकप खेलिरहेका अर्जेन्टिनी स्टार लियोनल मेसीमाथि जुन जिम्मेवारी र दबाब मैदानमा देखिन्छ, त्यो उनको अनुहार र खेल्ने शैलीले पनि झट्ट त्यहि इंगित गर्छ । आफ्नै कप्तानीमा अर्जेन्टिनी टोली लिएर मैदानमा उत्रिने मेसीमाथि सबैको नजर र भरोसा पनि हुन्छ ।

तीनै मेसीले शनिबार अबेर राती दोस्रो प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाका लागि गेम चेन्जरको भूमिका निभाए । अष्ट्रेलिया विरुद्धको त्यो खेल मेसीको करियरको १०००औं खेल थियो । त्यो अविस्मरणीय क्षणलाई उनले थप यादगार बनाए करियरको ७८९औं गोल गरेर ।

३५औं मिनटमा मेसीले बिपक्षीको पोष्टभन्दा करिब १७ मिटरको दुरीबाट गरेको सटिक प्रहार गोलपोष्टको बाँया कुना हुँदै गोलमा परिणत भएको थियो । त्यो गोल उनको करियरको ७८९औं गोल थियो । अर्थात क्लब र देशका लागि उनले हालसम्म गरेको त्यो कुल गोल संख्या थियो ।

त्यति मात्र नभएर विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पनि उनी दोस्रो स्थानमा उक्लिए । विश्वकपमा मेसीको त्यो नवौं गोल थियो । अर्जेन्टिनाका लागि उनीबाहेक ग्याब्रियल बाटिस्टुटाले एक गोल बढी गरेका छन् । सायद त्यो उपलब्धी उनले क्वाटरफाइनलमा भेटाउन पनि सक्छन् ।

अर्जेन्टिनाका लागि दोस्रो गोल ५७औं मिनटमा जुलियन अल्वारेजले गरे । तर दुई पटकको विश्व विजेता विरुद्ध अष्ट्रेलियाले पनि राम्रै चुनौति पेश गर्यो । निरन्तर गोलको प्रयास जारी राखेको अष्ट्रेलियाले ७७औं मिनटमा एक गोल फर्कायो । गुडवीनको कडा प्रहार एन्जो फर्नान्डेजलाई लाग्दै अर्जेन्टिनी पोष्टमा बल छिर्दा अष्ट्रेलियाले खेलमा फर्किने छनक देखायो । तर सफल भएन ।

अन्तिमसम्म पनि खेलको नतिजा २–१ नै रहँदा अर्जेन्टिनाको क्वाटरफाइनल यात्रा पक्का बन्यो । क्वाटरफाइनलमा अर्जेन्टिनाले बलियो आँकिएको नेदरल्याण्डसको सामना गर्नेछ । नेदरल्याण्डसले शनिबार नै भएको पहिलो प्रिक्वाटरफाइनलमा अमेरिकालाई ३–१ ले हराएको थियो ।

 

Post Comments