News माघमा महिला लिगको उत्साह (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । विश्वव्यापाी महामारी कोभिड–१९ का कारण थला परेको नेपाली खेलकुद विस्तारै ब्युँतिने तरखरमा छ । त्यसमध्ये पनि लोकप्रिय खेल फुटबललाई राष्ट्रियस्तर मै सञ्चालन भएको हेर्ने धेरै फुटबलप्रेमीहरुको चाहना भने अब राष्ट्रिय महिला लिगले पूरा गर्ने निश्चित भएको छ ।

अखिल नेपाल फुटबल संघले यहि माघ ७ गतेदेखि शुरु हुन गईरहेको राष्ट्रिय महिला लिगको अन्तिमर चरणका खेलहरु सञ्चालनका लागि खेलतालिका पनि सार्वजनिक गरिसकेको छ । लिगको उद्घाटन खेल दशरथ रंगशालामा हुनेछ भने बाँकी खेलहरु सबै सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछन् ।

उद्घाटन खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने एन्फाले सार्वजनिक गरेको खेलतालिकामा उल्लेख छ । प्रतियोगितामा तीन विभागीय टोलीहरुसहित कुल सात टोलीहरुले लिग उपाधिका लागि भिड्ने छन् ।

लिग विजेतालाई १५ लाख

महिला लिगको विजेताले यसपटक उपाधिसहित नगद १५ लाख हात पार्नेछ । त्यस्तै उपविजेताले ८ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । त्यसैगरी तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख र चौथो स्थान हात पार्ने टोलीले तीन लाख प्राप्त गर्ने एन्फाले घोषणा गरेको छ ।

त्यस्तै लिगको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर हात पार्नेछ । विधागततर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफी सहित नगद ५०–५० हजार प्रदान गरिने एन्फाले जनाएको छ । त्यति मात्र नभएर खेलाडीहरुको खान बस्नुको सुविधा पनि एन्फाले व्यवस्थापन गर्नेछ ।

खेलाडीहरुको पिसिआर परिक्षण अनिवार्य

लिगमा सहभागि हुने सबै टोलीका खेलाडीहरुको अनिवार्य पिसिआर परिक्षण गरिने पनि एन्फाले स्पष्ट पारेको छ । साथै परिक्षण पश्चात् रिपोर्ट पोजिटिभ आउने खेलाडीहरुलाई क्वारेन्टिन र आइसोलेसनमा राख्नका लागि आवश्यक व्यवस्था एन्फाले नै गर्ने भएको छ ।

यसपटक लिगमा एक क्लबले चार विदेशी खेलाडीहरुलाई मैदानमा उतार्न पाउने एन्फाले बताएको छ । एक टिममा २३ खेलाडी र सात अफिसियलहरु रहने पाउने पनि एन्फाले जनाएको छ ।

सहभागी टोलीहरु

चौदण्डीगढी नगरपालिका (उदयपुर), त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, बिराटनगर महानगरपालिका (मोरङ), वालिङ नगरपालिका (स्याङ्जा), चन्द्रपुर नगरपालिका (रौतहत), नेपाल पुलिस क्लब

हेर्नुहोस खेलतालिका

Post Comments