News माडीको जितमा रितेशको ह्याट्रिकसहित पाँच गोल
गोलनेपाल

बसन्तपुर । शानदार जितका साथ घरेलु टोली माडी–११ जारी दोस्रो माडी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको क्वाटरफाइनल भिडन्ततर्फ माडीले बिरगंज युथ एकेडेमीमाथि ५–१ को प्रभावशाली जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्यो । बसन्तपुर बजार स्थित माडी माविको खेलमैदानमा भएको खेलमा माडीका लागि रितेश क्षेत्री एक्लैले पाँच गोल गरे । उता पराजित बिरगंजका लागि आदित्य शाक्यले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलको म्यान अफ द म्याच भने माडीका पाँच गोलकर्ता रितेश क्षेत्री नै घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत माघ ५ गते सोमबारको खेल अल स्टार क्लब, तनहुँ र सेन्ट्रल कलेज भरतपुर एफसीबीच हुने आयोजकले जनाएको छ ।

बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर बजार चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो माघ १० गतेका दिन हुनेछ ।

Post Comments