
तानसेन । साविक विजेता फर्साटिकर युवा क्लब यहाँ जारी तेस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
शनिबार भएको पहिलो क्वाटरफाइनलमा फर्साटिकरले युनाइटेड युथ क्लबलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । तानसेन स्थित टुँडिखेल मैदानमा भएको खेलमा फर्साटिकरका लागि बलराम न्यौपाने र मिलन सुबेदीले गोल गरे ।
फर्साटिकरका गोलकर्ता बलराम न्यौपाने खेलको म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत जेठ ११ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल दमकडा ब्रदर्श विरुद्ध समपुर्ण युवा क्लबबीच हुने प्रचार प्रसार संयोजक अमृत केसीले जानकारी दिए ।
न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १७ गतेका दिन हुनेछ ।