
तानसेन । मनोभाव फुटबल क्लब यहाँ जारी तेस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा मनोभावले योङ ब्वाईज फुटबल क्लबलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । टुंडिखेल मैदानमा भएको खेलमा मनोभावका लागि दुवै गोल रबिन थापाले गरे ।
टोलीको जितमा नायक बनेका मनोभावका रबिन थापा नै खेलको म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत जेठ १४ गते बुधबारको पहिलो सेमिफाइनल खेल साविक विजेता फर्साटिकर युवा क्लब र भगवती युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।
न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १७ गतेका दिन हुनेछ ।