News सिद्धार्थ र राइजिङ क्वाटरफाइनलमा
सुरज राना मगर

सैनामैना । सिद्धार्थ फुटबल क्लब र राइजिङ ११ जारी प्रथम आदर्श कप नाईन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सैनामैना–४ लहरेपिपल टोल स्थित आयोजकको खेलमैदानमा भएको खेलमा सिद्धार्थले पेनाल्टी शुटआउटमा दमकडा एफसी, पाल्पालाई ४–३ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ दमकडाका लागि सुरज नेवारले गोल गरेका थिए भने सिद्धार्थका लागि निरज क्षेत्रीले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच भने पराजित दमकडाका गोलरक्षक रोशन गाहा घोषित भए । उनलाई प्रतियोगिता संयोजक बिकास बस्नेत तथा समाजसेवी मान बहादुर थापाले संयुक्त रुपमा पुरस्कृत गरे ।

राइजिङ ११ लाई वाकओभर

त्यस्तै माघ ४ गते नै हुने भनिएको अर्को खेलमा राइजिङ ११ ले वाकओभर पाउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । आयोजकले तोकेको निर्धारित समयसम्म पनि दर्शन युवा क्लबले खेलमैदानमा उपस्थिति नजनाएपछि राइजिङलाई वाकओभर दिइएको प्रतियोगिता संयोजक बिकास बस्नेतले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत माघ ५ गते पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा जुनियर आरके एफसी र रामपुर एफसी भिड्ने छन् भने दोस्रो खेलमा हिमालय एफसी र सितल युवा क्लब भिड्ने संयोजक बस्नेतले बताए ।

आदर्श युवा क्लब, सैनामैना–४ मुर्गियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष कोषराज बस्नेतले जानकारी दिए । फाइनल खेल माघ १५ गतेका दिन हुनेछ ।

 

Post Comments