News फोर ब्रदर्शलाई देउराली फुटसलको उपाधि
सुरज राना मगर

भूमही । फोर ब्रदर्श एफसीले प्रथम देउराली एस एण्ड एस खुला नकआउट फुटसल प्रतियोगिताको उपाधि जितेको छ । भूमही फुटसल एरिनामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा फोर ब्रदर्शले काजी ब्रदर्श एफसीलाई ३–२ ले हराउँदै उपाधि जित्न सफल भयो ।

फाइनल भिडन्तमा फोर ब्रदर्शको जितमा निशान न्यौपानेले दुई गोल गरे भने मनोज श्रेष्ठले एक गोल गरे । उता पराजित काजी ब्रदर्शका लागि सनम सारु मगर र मनिष चौधरीले गोल गरेका थिए ।

फाइनल प्रवेश गर्ने क्रममा फोर ब्रदर्शले ज्योति एफसीलाई ३–० ले हराएको थियो भने काजी ब्रदर्शले आयोजक देउराली एफसीलाई ४–० ले निराश तुल्याउँदै फाइनल यात्रा तय गरेको थियो ।

विजेता बनेको फोर ब्रदर्शले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता काजी ब्रदर्शले १० हजारमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी फोर ब्रदर्शका मनोज श्रेष्ठ घोषित भए ।

बिजयी खेलाडीहरुलाई विशेष अतिथी नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष धन प्रसाद गुरुङ, प्रमुख अतिथी सुनवल नगरपालिका–१२ का वडा अध्यक्ष यमलाल पाण्डे तथा आयोजक देउराली एस एण्ड एस कन्स्ट्रक्सन प्रा.लि.का अध्यक्ष गोपाल प्रधानले संयुक्त पुरस्कृत गरेका थिए ।

देउराली एस एण्ड एस कन्स्ट्रक्सन प्रा.लि., नवलपरासीको आयोजनामा भएको एक दिने प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता रहेको थियो । प्रतियोगिता संयोजक समेत रहेका गोपाल प्रधानले प्रतियोगितालाई आगामी बर्ष पनि निरन्तरता दिने बताए । उनले नवलपरासी जिल्लामा फुटसल खेललाई पनि व्यवसायीक रुपमै बढाउन प्रयास गर्ने बताए ।

साथै प्रतियोगिता सफलताका साथ सम्पन्न सहयोग पुर्याउने सबैलाई प्रधानले धन्यवाद र आभार समेत प्रकट गरे । उनले प्रतियोगिता सञ्चालन गर्न आगामी दिनहरुमा पनि सबैको सहयोग र समर्थनको अपेक्षा गरे ।

 

Post Comments