
तानसेन । स्थानीयदेखि राष्ट्रियस्तरका खेलाडीहरु जन्माएको पाल्पाली शहर तानसेनमा फुटबलको माहोल फरक छ अनि विशेष छ । पाल्पाली फुटबलको त्यही माहोललाई जीवन्त बनाउन लागिपरेको पाल्पा फुटबल एकेडेमी ।
दुई वर्ष अघि अर्थात् वि.सं. २०८० सालमा तानसेनका नयाँ पुराना खेलाडी साथीभाईहरुको पहलमा स्थापित एकेडेमीले अहिले पाल्पा मै नभएर लुम्बिनी प्रदेश र राष्ट्रियस्तर मै पहिचान बनाउन लागि परेको छ ।
पाल्पामा खेल्ने, खेलाउने र खेलाडी उत्पादन गर्ने योजना बुन्दै गर्दा तानसेनका पाँच युवाहरु रितेश मल्ल, अमृत केसी, करन चित्रकार, सुबित केसी र रेशम सिङ्जालीसँग एउटा उपाय जुर्यो ‘आफ्नै लगानी र पहलमा एकेडेमी खोल्ने’ । अनि त्यही उपायको उपज बन्यो पाल्पा फुटबल एकेडेमी ।
पाल्पाली फुटबलमा रितेश, अमृत, करन, सुबित र रेशम सबै फुटबल पृष्ठभूमिमा अभ्यस्त भईसकेका नामहरु पनि हुन् । रितेश पूर्व राष्ट्रिय खेलाडी हुन् भने अहिले सक्रिय एन्फा प्रशिक्षक पनि हुन् । त्यसो त सुबित, अमृत र रेशम पनि खेलाडी हुँदै प्रशिक्षणतर्फ होमिएका पाल्पाली फुटबलका परिचित नाम नै हुन् । करन भने पाल्पा जिल्ला फुटबल संघका सचिव समेत हुन् । तानसेनका युवा व्यवसायीका छवी समेत बनएका करन भन्छन् “दैनिकी जिविकोपार्जनका लागि अन्य विकल्प पनि छन् । तर, फुटबलप्रतिको झुकावले जुन सन्तुष्टी दिन्छ, त्यो सन्तुष्टी मैले अरुमा पाएको छैन । आफ्नै ठाउँको फुटबल प्रर्वद्धनमा लाग्न पाउनु मेरो लागि खुशीको कुरा पनि हो ।”
एकेडेमीका संस्थापक र प्रशिक्षक मध्ये एक अमृत केसी केही पुराना दिन सम्झिदै भन्छन्, “पहिला केही सिमित बाल खेलाडीहरुलाई प्रशिक्षण दिने योजना बनाए पनि प्रशिक्षण शुरु गर्दा प्रशिक्षार्थीहरुको संख्यामा बृद्धि हुन थाल्यो । अनि हामीले आधिकारिक रुपमै एकेडेमी सञ्चालन गर्ने निर्णय गर्यौं । आफनै नियमित व्यवसाय पनि छ । तर, आफ्नै जिल्लाको फुटबलका लागि म जुनसुकै बेला समय छुट्याउन तयार छु ।”
एकेडेमी कै अर्का संस्थापक र व्यवस्थापनको जिम्मेवारी समेत हेरिरहेका सुबित केसीका अनुसार एकेडेमी सञ्चालनका लागि चुनौतिहरु धेरै भए पनि, त्यसलाई चिर्दै आफूहरु अगाडी बढिरहेको सुनाउँछन । सुबित भन्छन्, “एकेडेमी खोलेर नियमित प्रशिक्षण दिंदै गर्दा त्यसको आर्थिक पाटोलाई बिर्सन सकिंदैन । चुनौतिहरु छन्, हामी ती चुनौतिहरु सामना गर्दै अगाडी बढिरहेका छौं । तमाम चुनौतिका बीच साना भाईबहिनीहरुले फुटबलमा भविष्य खोतल्दै, पसिना बगाउँदै मेहनत र प्रशिक्षण गर्दा खुशी लाग्छ र उनीहरुका लागि अझै केही गरौं भन्ने हौसला मिल्छ ।”
यी र यस्तै यावत कुराहरुलाई आत्मसात गर्दै अगाडी बढीरहेको पाल्पा फुटबल एकेडेमीका मुख्य प्रशिक्षक र राष्ट्रियस्तर कै पूर्व खेलाडी रितेश मल्लको बुझाई र भोगाई पनि उस्तै तर केही फरक पनि छ । उनी एकेडेमीको आफ्नै भवन, आफ्नै मैदान लगायतका महत्वपूर्ण भौतिक पक्षहरुलाई कसरी कार्यान्वयनमा ल्याउने भन्नेबारे दिनहुँ सोच्ने गर्छन् । रितेश भन्छन, “आफ्नै मैदान र आवाससहितको सुविधा भए खेलाडीहरुलाई पनि सहज हुन्थ्यो । ढिलो चाडों हाम्रा ती योजनाहरु पनि सफल होलान भन्नेमा हामी आशावादी छौं । एकेडेमीमा रहेका खेलाडीहरु अनुशासित र मेहनती छन् । उनीहरुलाई राष्ट्रियस्तरमा पुर्याउने हाम्रो लक्ष्य पनि छ । विस्तारै सबै कुराहरु पूरा हुनेछन् भन्नेमा विश्वस्त पनि छु ।”
एकेडेमीले हाल तानसेन मै रहेको टुंडिखेल मैदानमा खेलाडीहरुलाई नियमित प्रशिक्षण दिईरहेको छ । त्यति मात्र नभई एकेडेमीले बाल खेलाडीहरुको क्षमता अभिवृद्धि गर्न मासिक रुपमै एकेडेमीस्तरमा नियमित फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ । र, उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत पनि गरिरहेको अर्का एकेडेमी सञ्चालक रेशम सिङ्जाली मगर सुनाउँछन् ।
रेशम भन्छन, “बाल खेलाडीहरुलाई फुटबल प्रशिक्षणसँगै नैतिकता, आचरण र अनुशासनका कुराहरु पनि सिकाउँदै छौं । खेलाडीहरुमा क्षमता र मेहनत जत्तिकै अनुशासन पनि महत्वपूर्ण छ । एउटा कुशल खेलाडीमा हुनुपर्ने महत्वपूर्ण गुण अनुशासन पनि हो । सानाहरुको धेरै सपनाहरु हुन्छन् । ती साना खेलाडीहरुको सपना भने पाल्पा फुटबल एकेडेमीले पूरा गर्ने प्रयास गर्दैछ ।”