News थापाचोक मंगलबारे एफसीलाई सफलता
गोपाल काफ्ले

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं ८ मा जारी मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिता अन्तरगत आजको खेलमा थापाचोक मंगलबारे फुटवल क्लब बिजयी भएको छ । तालतलैया फुटवल एकेडेमीलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै थापाचोक मंगलबारे फुटवल क्लव विजयी भएको हो ।

पहिलो हाफसम्म गोलरहित अवस्थामा रहेका दुवै टिमले दोश्रो हाफपछि आक्रामक रुपमा मैदानमा उत्रिएका थिए । थापाचोक मंगलबारेको जितमा मध्यान्तरको १५औँ मिनेटमा जर्सी नं १० का सनम भुजेलले पहिलो गोल गरेका थिए । मध्यान्तरको २१औँ मिनेटमा जर्सी नं ९ का संजय धिमालले अर्को गोल गर्दै टिमलाई २ गोलको अग्रता दिलाएका थिए । त्यस्तै ३०औँ मिनेटमा तालतलैया फुटवल एकेडेमीका जर्सि नं ५ का किरण राईले आफ्नो टिमका लागि पहिलो गोल गरेका थिए ।

तर उता खेलको अतिरिक्त समयमा थापाचोक मंगलबारेका लागि सनम भुजेलले तेस्रो र ब्यक्तिगत दोश्रो गोल गर्दै टोलीलाई ३–१ को जित सुनिश्चित गरे । खेलको म्यान अफ द म्याच थापाचोक मंगलबारेका गोलरक्षक मनोज दाहाल घोषित हुँदै नगद १ हजार प्राप्त गरे । म्यान अफ द म्याचको पुरस्कार दानबहादुर राईले सौजन्य गरेका थिए । उनि मनिशा कृषि फार्मका सञ्चालक समेत रहेका छन । सोमबारको खेल हिमाल फुटवल क्लव कानेपोखरी र लालभित्ति फुटवल क्लव बेलबारीबिच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार, मेडल र ट्रफि हात पार्नेछन भने उपविजेताले नगद २५ हजार, मेडल र ट्रफी हात पार्नेछन् । प्रतियोगिताका लागि वार्ड नम्बर ८ का जनप्रतिनिधीहरुले दोस्रो पुरस्कार सौजन्य गरेका छन् । प्रतियोगिता आयोजना गर्न साढे ३ लाख खर्च हुने अनुमान गरिएको छ ।

 

Post Comments