
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यु–२३ एसियन कप छनौट खेल्ने नेपाली यु–२३ राष्ट्रिय फुटबल टोलीका लागि टिम प्रशिक्षक र व्यवस्थापकको टुंगो लगाएको छ ।
एन्फाले बुधबार मात्रै नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा नबिन न्यौपानेलाई नियुक्त गरेको थियो । त्यस्तै बिहीबार भने टोलीहो सहायक प्रशिक्षक, गोलकिपिङ प्रशिक्षक र टिम म्यानेजरको नियुक्ति गरेको छ ।
जसअनुसार टोलीको सहायक प्रशिक्षकमा सचिन्द्र धिमाल नियुक्त भएका छन् भने गोलकिपिङ प्रशिक्षकमा नबिन महर्जन नियुक्त भएका छन् । त्यस्तै टिम म्यानेजरमा भने अमृत मान श्रेष्ठ नियुक्त भएका छन् । तीनै जनालाई बिहीबार एक कार्यक्रमका बीच एन्फाका कार्यवाहक महासचिव दामोदर भट्टराईले नियुक्तिपत्र हस्तान्तरण गरे ।
स्मरण रहोस, नेपालले आउँदो सेप्टेम्बर ३ देखि ९ तारीखसम्म हुने एएफसी यु–२३ एसियन कप छनौट खेल्ने कार्यक्रम रहेको छ । छनौट प्रतियोगिातर्फ समूह के मा रहेको नेपालले आयोजक ताजिकिस्तानसहित सिरिया र फिलिपिन्ससँग खेल्ने कार्यक्रम छ ।