News आयोजक ग्रीन फिल्डलाई फुटसल उपाधि
सुरज राना मगर

बुटवल । ग्रीन फिल्ड फुटसल प्रा.लि. बुटवलको आयोजनामा सम्पन्न दुई दिने प्रथम ग्रीन फिल्ड ओपन फुटसल च्याम्पियनसिपको उपाधि आयोजक ग्रीन फिल्ड एफसीले नै जितेको छ ।

बुटवल–११ देवीनगर नमुनापथ स्थित आयोजक कै ग्रीन फिल्ड फुटसल एरिनामा भएको फाइनल भिडन्तमा ग्रीन फिल्डले स्मृति एफसीलाई सडन डेथमा १–० ले हरायो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

बिजेता बनेको ग्रीनफिल्डले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता स्मृतिले १५ हजारमा चित्त बुझायो । स्मरणीय छ, दुई दिने प्रतियोगितामा रुपन्देही र पाल्पाका गरी कुल २८ टोलीहरुले सहभागिता जनाएका थिए ।

सर्वोत्कृष्ट खेलाडी निशान

प्रतियोगितामा व्यक्तिगत विधातर्फ तीन विधामा खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी स्मृतिका निशान न्यौपाने घोषित भए । उत्कृष्ट गोलरक्षक ग्रीन फिल्डका बिष्णु पल्ली चुनिए भने प्रतियोगिताभरि १४ गोल गरेका ग्रीन फिल्ड कै अनुप गुरुङले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।

प्रमुख अतिथी गगन थापा

बिहीबार सम्पन्न फाइनल भिडन्तका मुख्य अतिथी थिए पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य चर्चित युवा नेता गगन थापा । थापाले मोफसलमा पनि खेलकुद गतिविधीले राम्रो प्लेटफर्म पाईरहेको बताउँदै उनले आयोजक ग्रीन फिल्डलाई आगामी दिनहरुका लागि पनि शुभकामना दिए ।

आयोजक क्लब कै अध्यक्ष सुरज पाण्डेको अध्यक्षतामा भएको फाइनलको समापन कार्यक्रम सञ्चालन आयोजक कमिटीका सदस्यद्वय धन खाम्चा र यम सिंजालीले गरेका थिए ।

सो अवसरमा युवा संघ नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष राजु गुरुङ लगायत अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो । प्रतियोगिताको व्यवस्थापन र संयोजन भने बिष्णु कसौधनले गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै आयोजक क्लबका अध्यक्ष सुरज पाण्डेले फुटसल प्रतियोगितालाई आगामी बर्षहरुमा पनि भव्यताका साथ आयोजना गरेर निरन्तरता दिने बताए । साथै उनले प्रतियोगिता सफलताका साथ सम्पन्न सहयोग पुर्याउने सबैलाई धन्यवाद समेत दिए ।

Post Comments