काठमाडौं । राष्ट्रिय महिला लिगको अन्तिम चरणको खेलतर्फ विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो दोस्रो खेलमा फराकिलो जित हात पारेको छ । बुधबार उद्घाटन खेलमा मात्र आर्मीसँग बराबरी खेलेको पुलिसले शुक्रबार भने चौदण्डीगढी नगरपालिका, उदयपुरमाथि ६–० को फराकिलो जित निकाल्यो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलको २८औं मिनटमा रेखा पौडेलले पहिलो गोल गरिन् । ४१औं मिनटमा अमृता जैसीले त्यो अग्रता दोब्बर पारिन् । त्यस्तै पहिलो हाफकै ४५औं मिनटमा श्रृजना खड्काले पुलिसका लागि तेस्रो गोल गरिन् ।
त्यसको दुई मिनट लगतै पहिलो हाफ कै इन्जुरी समयमा निर्मला बिकले पुलिसको त्यो अग्रता ४–० को स्थितिमा पुर्याईन् । पुलिसको जितमा पाँचौं गोल फेरि रेखा पौडेल कै नाममा रह्यो । पौडेलले ८९औं मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसको अग्रता ५–० को स्थितिमा पुर्याइन् ।
खेलको अन्तिमसम्म चौदण्डीगढी माथि हावी देखिएको पुलिसका लागि ९०+३औं मिनटमा श्रृजना खड्काले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गर्दै पुलिसको फराकिलो जित सुनिश्चित गरिन् । खेलको प्लेयर अफ द म्याच पुलिसकी श्रृजना खड्का घोषित भईन् ।
शनिबार दुई खेलहरु हुने
एन्फाले सार्वजनिक गरेको खेलतालिका अनुसार लिग अन्तरगत माघ १० गतेका दिन दुई खेलहरु हुनेछन् । पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिका, स्याङ्जासँग खेल्नेछ भने दोस्रो खेलमा एपिएफ क्लब र बिराटनगर महानगरपालिका, मोरङ भिड्ने छन् ।
(तस्विरः एन्फा)
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा