तेह्रथुम। तेह्रथुम जिल्लाबाट नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा प्रतिनिधित्व गरिरहेका तीन प्रतिभाशाली खेलाडीलाई ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाले जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोगसहित सम्मान गरेको छ।
सम्मानित हुने खेलाडीहरूमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी अनु बस्नेत, राष्ट्रिय महिला फुटबल टोलीको यू–२० समूहकी सेमिहाङ पन्धाक र यू–१७ समूहकी साहारा तुम्बाहाङ्फे रहेका छन्। समाजले तीनै जना खेलाडीलाई उनीहरूले राष्ट्रिय महिला फुटबल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो।
तेह्रथुमको माटोबाट उदाउँदै राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिएको यस सहयोगले उनीहरूको खेलजीवनमा थप ऊर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ।
खेलाडीहरूको मेहनत, समर्पण र उपलब्धिको सम्मान गर्दै प्रवासमा रहेर पनि जिल्लाको खेलकुद विकासमा योगदान पुर्याएको ग्लोबल तेह्रथुम सेवा समाजको यस कार्यलाई सकारात्मक पहलका रूपमा हेरिएको छ।
तेह्रथुमका खेलाडीहरूले राष्ट्रिय महिला फुटबलमा पुर्याइरहेको योगदानले जिल्लाको पहिचानलाई थप उचाइमा पुर्याउनुका साथै जिल्लाका अन्य युवा तथा महिला खेलाडीलाई समेत फुटबलमा आफ्नो भविष्य खोज्न प्रेरणा दिने विश्वास गरिएको छ।