सुन्दरनगर । रुपन्देहीको कञ्चन गाउँपालिकामा जारी प्रथम सुर्यमुखी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगितातर्फ विश्व शान्ति युवा क्लब (ए), मुर्गिया फुटबल क्लब (बी) र ठुलीचौर फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
कञ्चन गाउँपालिका १ स्थित सुन्दरनगर खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ विश्व शान्ति (ए)ले सितल चौपारी समूहलाई १–० ले हरायो । विश्व शान्तिका लागि अशोक रानाले एक मात्र निर्णायक गोल गरे । खेलमा विश्व शान्तिका सन्दिप मगर म्यान अफ दि म्याच घोषित भए ।
अर्को खेलमा मुर्गिया (बी)ले जागृति तथा युवा समूहलाई समान १–० को अन्तरले पराजित गर्यो । मुर्गियाका लागि ज्ञानदिप गलामीले एक मात्र निर्णायक गोल गरे । मुर्गियाका निर्णायक गोलकर्ता ज्ञानदिप गलामी नै म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै तेस्रो खलमा ठुलीचौरले र फार्म बिजीमाथि ३–० को प्रभावशाली जित निकाल्यो । खेलमा ठुलीचौरका लागि आशिष पुन, मनोज थारु र अमित थारुले गोल गरे । खेलको म्यान अफ दि म्याच भने ठुलीचौरकै अमित थारु चुनिए ।
सुर्यमुखी युवा क्लब, कञ्चन गाउँपालिका–१, सुन्दरनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २०,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रबिन थापाले जानकारी दिए । फाइनल खेल साउन १४ गतेका दिन हुनेछ ।