सुन्दरनगर । मुर्गिया फुटबल क्लब (ए) रुपन्देहीमा जारी प्रथम सुर्यमुखी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
कञ्चन गाउँपालिका–१ स्थित सुन्दरनगर खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलमा मुर्गियाले विश्व शान्ति युवा क्लबलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । मुर्गियाको जितमा राजिव चापागाईंले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने मुर्गिया कै अमित शाह चुनिए ।
त्यस्तै अस्नैया फुटबल क्लब र नमुना युथ क्लब (ए) प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अस्नैयाले कोपिला युवा क्लबलाई टाईब्रेकरमा ३–२ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा अस्नैयाका रोहन परियार म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै अर्को प्रिक्वाटरफाइनलमा नमुना युथ क्लब (ए) ले न्यु एभरेष्ट युवा क्लबलाई १–० ले अन्तरले पराजित गर्यो । खेलमा नमुनाका लागि मिलन आलेले एक मात्र निर्णायक गोल गरे । खेलका निर्णायक गोलकर्ता मिलन आले नै म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत साउन १२ गते सोमबार अन्तिम तीन क्वाटरफाइनल खेलहरु हुने खेल संयोजक रबिन थापाले जानकारी दिए ।
सुर्यमुखी युवा क्लब, कञ्चन गाउँपालिका–१, सुन्दरनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २०,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रबिन थापाले जानकारी दिए । फाइनल खेल साउन १४ गतेका दिन हुनेछ ।