सुन्दरनगर । रुपन्देहीमा जारी प्रथम सुर्यमुखी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा नमुना युथ क्लब (ए) र मुर्गिया फुटबल क्लब (बी) भिड्ने भएका छन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई सेमिफाइनलतर्फ नमुना र मुर्गियाले जित हात पार्दै फाइनल भेट पक्का गरेका हुन् । कञ्चन गाउँपालिका १ स्थित सुन्दरनगर खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा नमुनाले मुर्गिया फुटबल क्लब (ए) लाई २–० ले हरायो । नमुनाको जितमा अरुण चौधरी र मिलन आलेले गोल गरे । नमुनाका अरुण चौधरी नै म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै मंगलबार नै भएको दोस्रो सेमिफाइनलतर्फ मुर्गिया फुटबल क्लब (बी) ले अस्नैया फुटबल क्लबलाई ३–१ ले हराउँदै फाइनल प्रवेश गर्यो । मुर्गिया (बी) को जितमा अरुण पुन, निशान्त क्षेत्री र बिकास बस्नेतले गोल गरे । उता पराजित अस्नैयाका लागि भने रिजन मगरले एक मात्र गोल फर्काएका थिए । खेलमा मुर्गिया (बी) का अरुण पुन म्यान अफ दि म्याच घोषित भए ।
सुर्यमुखी युवा क्लब, कञ्चन गाउँपालिका–१, सुन्दरनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २०,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रबिन थापाले जानकारी दिए । फाइनल खेल साउन १४ गते बुधबारका दिन हुनेछ ।