News फिफा महिला वरियतामा नेपालको ऐतिहासिक छलाङ
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको महिलातर्फको ताजा वरियतामा नेपाली महिला फुटबल टोलीले ऐतिहासिक फड्को मारेको छ ।

फिफाले अगस्त महिनाका लागि निकालेको वरियता अनुसार नेपालले १३ स्थान सुधार गर्दै ८७औं स्थानमा उक्लिएको हो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालको यो अहिलेसम्म कै उच्च वरियता समेत हो ।

दक्षिण एसियातर्फ भने नेपाल दोस्रो स्थानमा कायम छ । उता सात स्थान सुधार गर्दै ६३औं स्थानमा पुगेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ । त्यस्तै २४ स्थान सुधार गर्दै १०४औं स्थानमा पुगेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ ।

त्यस्तै तीन स्थान सुधार गर्दै १५४औं स्थानमा उक्लिएको पाकिस्तान दक्षिण एसियातर्फ चौथो स्थानमा छ भने दुई स्थान तल झदैं १६१औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ ।

त्यसैगरी आठ स्थान सुधार गर्दै १६३औं स्थानमा पुगेको भुटान दक्षिण एसियातर्फ छैठौंं स्थानमा छ भने दुई स्थान तल झर्दै १६५औं स्थानमा पुगेको माल्दिभ्स दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।

विश्व वरियताको शिर्ष स्थानमा भने विश्व विजेता स्पेन यथावत छ । दोस्रो स्थानमा अमेरिका रहँदा तेस्रो स्थानमा स्वीडेन रहेको छ । एसियाबाट विश्व वरियताको शिर्ष दशभित्र जापान र उत्तर कोरिया परेका छन् । जापान आठौं स्थानमा छ भने उत्तर कोरिया दशौं स्थानमा रहेको छ ।

Post Comments