News लालभितिलाई मंगलबारे शुक्रबारे कपको उपाधी
गोपाल काफ्ले

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं ८ मा सम्पन्न मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधी लालभिति फुटवल क्लव बेलवारीले जितेको छ । शनिवार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा लालभित्तिले आयोजक मंगलबारे शुक्रबारे एफसीलाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

लालभितिको जितमा एमोस मगर निर्णायक रहे । मगरले लालभितिका लागि ५५ र ६१औं मिनटमा गरेको दुई गोल नै टोलीलाई विजेता बनाउन प्रर्याप्त बन्यो । उता पराजित आयोजकका लागि ६३औं मिनटमा सौरभ कार्कीले एक गोल गर्दै खेलमा फर्कने प्रयास गरे तापनि आयोजकको त्यो प्रयास सफल भएन ।

फाइनल खेलको म्यान अफ द म्याच लालभितिका एमोस मगर नै घोषित भए । त्यस्तै व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट फरवार्डको पुरस्कार आदर्श लिम्बुले जिते । उत्कृष्ट डिफेन्डर आविश्कार क्षेत्री घोषित भए भने उदियमान खेलाडी सौरव राउत बने । त्यसैगरी उत्कृष्ट गोलरक्षक दिपहाङ लिम्बु घोषित भए भने उत्कृष्ट मिडफिल्डर साइमन लिम्बु चुनिए । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने तिर्थ बस्नेत बने ।

प्रतियोगिताको विजेता बन्दै लालभित्ति फुटवल क्लवले नगद ५१ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको आयोजक मंगलवारे शुक्रबारे फुटवल क्लवले नगद २५ हजारमा चित्त बुझायो । विजेता र उपविजेता टोलीलाई पथरीशनिश्चरे वडा नं ८ का वडाध्यक्ष बाबुराम दाहालले पुरस्कार हस्तान्तरण गरेका थिए ।

मंगलबारे शुक्रबारे फुटबल क्लब, पथरी शनिश्चरे–८ मोरङको आयोजनामा माघ ३ गतेदेखि शुरु प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments