News सितल युवा क्लब आदर्श कपको सेमिफाइनलमा
सुरज राना मगर

सैनामैना । राष्ट्रिय खेलाडी डोना थापाका दाजु भाई फेरि चम्किएपछि सितल युवा क्लब जारी प्रथम आदर्श कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा सितल युवा क्लबले रामपुर फुटबल क्लबलाई २–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । सैनामैना–४ लहरेपिपल स्थित आयोजकको खेलमैदानमा भएको खेलको तेस्रो मिनटमै एरोन थापाले सितलका लागि पहिलो गोल गरेका थिए ।

बक्स भित्र पाएको चिप पासलाई एरोनले बिपक्षीको बाँया कुना च्याप्दै सुन्दर गोल गरेका थिए । यद्यपि प्रतिस्पर्धात्मक खेलमा सितलले दोस्रो गोलका लागि भने अन्तिमसम्म पर्खनु परेको थियो । दोस्रो हाफतर्फ इन्जुरी समयको दोस्रो मिनटमै कप्तान डोना थापाले दोस्रो गोल गर्दै सितल युवा क्लबको जित सुनिश्चित गरेका थिए ।

रोचक कुरा त, डोना थापा पहिलो गोलकर्ता एरोन थापा कै दाई समेत हुन् । साथै यी दुई दाजु भाईले प्रिक्वाटरफाइनलतर्फ हिमालयन एफसी विरुद्ध २–१ को जित निकाल्दा पनि एक–एक गोल गरेका थिए । शनिबारको खेलको म्यान अफ द म्याच भने पराजित रामपुरका कप्तान सुजन गुरुङ घोषित भए ।

प्रतियोगिता अन्तरगत माघ ११ गते आइतबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक आदर्श युवा क्लब र न्यु एभरेष्ट एफसीबीच हुने खेल संयोजक बिकास बस्नेतले जानकारी दिए ।

आदर्श युवा क्लब, सैनामैना–४ मुर्गियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष कोषराज बस्नेतले बताए । फाइनल खेल माघ १५ गतेका दिन हुनेछ ।

 

Post Comments