चिल्हिया । डिवासी क्लब, सियारी गाउँपलिका–१, कोटहीमाई, रुपन्देहीको आयोजनामा सम्पन्न भएको स्व. मोहन घर्ती क्षेत्री स्मृति चौथो डिवाइसी कपको उपाधि आयोजक डिवाइसीले नै जितेको छ ।
आइतबार सम्पन्न फाइनलमा डिवाइसीले जागृति युवा क्लबलाई १–० को साँघुरो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । डिवाइसीको जितमा कप्तान मुकुल क्षेत्रीले गरेको उक मात्र गोल निर्णायक गोल बन्यो ।
विजेता बनेको डिवाइसीले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता जागृतिले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ जागृतिका निर मगर प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक डिवाइसीका बिक्रम राना मगर बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार डिवाइसी कै कप्तान मुकुल क्षेत्रीले हात पारे ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी, समाजसेवी तथा प्रथम पुरस्कार प्रायोजक मञ्जु घर्ती क्षेत्री, विशष्ठि अतिथी दोस्रो पुरस्कार प्रायोजक भरत कुँवर, जर्सी प्रायोजक तथा अतिथी सामुएल पोखरेल, आयोजक क्लबका अध्यक्ष दिनेश कार्की लगायतले पुरस्कृत गरेका थिए ।