News महिला लिगमा दुई विभागीय टिम सफल, साबित्राको लगातार दोस्रो ह्याट्रिक
गोलनेपाल

काठमाडौं । उपाधिको दावेदार मानिएका विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आ–आफ्नो खेलमा आइतबार शानदार जित हात पारेका छन् ।

एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिका, स्याङ्जा विरुद्ध ७–० को फराकिलो जित निकाल्यो । आर्मीको जितमा बिमला चौधरीले ह्याट्रिक गरिन् ।

बिमलाले १५औं मिनटमा गोलको खाता खोलेकी थिईन् । दिपा राईले २८औं मिनटमा त्यो अग्रता दोब्बर पारिन् । मध्यान्तर अघि शर्मिला थापाले आर्मीको अग्रता तेब्बर पुर्याईन् ।

दोस्रो हाफतर्फ ६६ र ७५औं मिनटमा बिमलाले लगातार दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् भने आर्मीको अग्रता पनि ५–० को स्थितिमा पुर्याउन सफल भईन् ।

त्यस्तै ८९औं मिनटमा हेमा चौधरीले आर्मीका लागि छैटौं गोल गर्दा भुजंग राईले ९२औं मिनटमा सातौं गोल थप्न भएकी थिईन् । ह्याट्रिककर्ता बिमला चौधरी नै प्लेयर अफ द म्याच घोषित भएकी थिईन् ।

साबित्राको लगातार दोस्रो ह्याट्रिक

आइतबार नै भएको दोस्रो खेलमा अर्को दावेदार टोली एपिएफले बिराटनगर महानगरपालिकामाथि समान ७–० को जित दर्ता गर्यो । एपिएफको जितमा साबित्रा भण्डारीले ह्याट्रिकसहित चार गोल गरिन् ।

उनले खेलको २४, ४२, ७४ र ८९औं मिनटमा गोल गर्दै आफ्नो ह्याट्रिक र प्रभावलाई खेलमा प्रष्ट जमाउन सफल भएकी थिईन् । साबित्राले पहिलो खेलमा चन्द्रपुर नगरपालिका विरुद्ध पनि ह्याट्रिक गरेकी थिईन् ।

त्यस्तै अनिता बस्नेतको नाममा दुई गोल रह्यो । उनले नवौं र ८०औं मिनटमा गोल गरेकी थिईन् । थप एक गोल भने प्लेयर अफ द म्याच समेत घोषित सरु लिम्बुले ७२औं मिनटमा गरेकी थिईन् ।

सोमबार एक खेल हुने

राष्ट्रिय महिला लिग अन्तरगत माघ १२ गते सोमबारका दिन एक खेल मात्र हुनेछन् । जसअन्तरगत चौदनण्डीगढी नगरपालिका, उदयपुर र चन्द्रपुर नगरपालिका, रौतहट आमने सामने हुनेछन् । खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समै हुनेछ ।

Post Comments