चितवन । छोटो समयमा चितवन जिल्ला कै प्रतिष्ठित बनेको तेस्रो चितवन गोल्डकप फुटबल प्रतियोगिता भदौ २७ गतेदेखि सुरु हुने भएको छ । आयोजक हानामी भरतपुर फुटबल क्लब बिएफसीले प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।
असोज ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यस पटक ८ टोली सहभागी हुने संयोजक धुर्व भुसालले जानकारी दिए । सहभागी टिम बारे टुङ्गो लाग्न भने बाँकी रहेको भुसालले बताए । यस अघि पहिलो र दोस्रो संस्करणमा १० टोली सहभागी थिए ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँसहित ट्रफी र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत उत्कृष्टले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक दिन प्लेयर अफ अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक भुसालले जानकारी दिए ।
प्रतियोगिताका लागि आन्तरिक तयारी चलिरहेको क्लबका अध्यक्ष लालसिंह गुरुङले जानकारी दिए । तेस्रो चितवन गोल्डकप गत वर्ष नै आयोजना गर्ने तयारी भए पनि जेनजी आन्दोलनका कारण स्थगित भएको थियो । यस अघि प्रथम संस्करणको चितवन गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लब तथा दोस्रो संस्करणको उपाधि बुटवल लुम्बिनी एफसीले जितेको थियो ।