बगनाशकाली । युनाइटेड युथ क्लब पाल्पाको बगनाशकाली गाउँपालिकामा जारी तीज स्पेशल कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ युनाइटेड युथले न्यु एकता फुटबल क्लबलाई १–० को साँघुरो अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो ।
कोठीचौर खेलमैदानमा भएको खेलमा युनाइटेड युथका लागि कपिल पुनले एक मात्र निर्णायक गोल गरे । युनाइटेड युथका निर्णायक गोलकर्ता कपिल पुन नै खेलको म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत भदौ १ गते आइतबारको खेल नव जागृति युवा क्लब (कालो) र पाल्पा फुटबल एकेडेमीबीच हुने खेल संयोजक हरि सिंह गाहाले जानकारी दिए ।
नव जागृति युवा क्लब, बगनाशकाली–१, घोरबन्दा, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही भदौ १० गतेका दिन हुनेछ ।