News वडा नम्वर ८ र २ उपाधिका लागि भिड्ने
गोलनेपाल

काठमाडौं । वडा नम्वर ८ र २ टोखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

टोखास्थित भुतखेल मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा वडा नम्वर ८ ले उपाधिको बलियो दावेदार वडा नम्वर ३ लाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।

निर्धारित र थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा वडा नम्वर ८ का जय प्रकाश बोम्जन, बिजय बानियाँ, गौतम बानियाँ, ध्रुब श्रेष्ठ र प्रकाश सिटौलाले गोल गर्दा कप्तान अनिस श्रेष्ठले गोल गर्न सकेनन् । वडा नम्वर ३ का बुद्ध डंगोल, सुविन्द्र श्रेष्ठ, युगेश श्रेष्ठ र गोविन्द रिमालले गोल गर्दा सरोज डंगोलले गोल गर्न चुकेका थिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा वडा नम्वर २ ले ६ माथि ३–१ को जित निकाल्दै फाइनलमा वडा नम्वर ८ सँगको उपाधि भेट पक्का गर्यो । वडा नम्बर २ को जितमा दिनेश डंगोलले दुई तथा बिवेक श्रेष्ठले एक गोल गरे । ६ का सरोज कुँवरको गोल सान्त्वना बन्यो ।

फाइनल मंगलबार हुने आयोजक एसडी ९९ स्पोर्टस् कर्नरले जनाएको छ । प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको छ ।

Post Comments