पिपरीचापा । योङ ब्वाईज क्लब र विश्व शान्ति युवा क्लब रुपन्देहीमा जारी दोस्रो गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोलीहरु बनेका छन् ।
शुक्रबार प्रतियोगिताका अन्तिम दुई क्वाटरफाइनल खेलहरु सम्पन्न भए । कञ्चन गाउँपालिका–५, पिपरीचापा स्थित गौतम बुद्ध खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा योङ ब्वाईजले न्यु सृजना युवा क्लबलाई ३–२ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो ।
योङ ब्वाईजको जितमा मन्नु कुमाल, निखिल पुन र मनिष तामाङले गोल गरे । उता पराजित न्यु सृजनाका लागि भने दुवै गोल दिनेश गुरुङले गरेका थिए । खेलमा योङ ब्वाईजका निखिल पुन म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै शुक्रबार नै भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा विश्व शान्तिले आयोजक गौतम बुद्ध सामुदायिक विकास केन्द्रलाई २–० ले हरायो । विश्व शान्तिको जितमा दुवै गोल आकाश रानाले गरे । खेलको म्यान अफ दि म्याच पनि विश्व शान्ति कै आकाश राना चुनिए ।
प्रतियोगिता अन्तर्गत भदौ ७ गते शनिबारको पहिलो सेमिफाइनल खेल रेन्बो एकेडेमी र योङ ब्वाईज क्लब बीच हुनेछ । त्यस्तै भदौ ८ गते आइतबार हुने दोस्रो सेमिफाइनलमा विश्व शान्ति युवा क्लब र सुनगाभा सामुदायिक विकास केन्द्र भिड्ने खेल संयोजक रोशन पुनले जानकारी दिए ।
गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका–५, पिपरीचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष कमल दर्जीले जानकारी दिए । फाइनल खेल यही भदौ १० गतेका दिन हुनेछ ।