बगनाशकाली । रोमाञ्चक जिका साथ युनाइटेड युथ क्लब पाल्पामा जारी तीज स्पेशल कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
शुक्रबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा युनाइटेड युथले प्रकृति युथ क्लबलाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । युनाइटेड युथको जितमा सन्तोष कार्कीले दुई गोल गर्दा थप एक गोल आत्मघाती गोल पाएको थियो । उता प्रकृतिका लागि भने दुवै गोल बिनोद बस्नेतले गरे ।
प्रतियोगिता अन्तर्गत भदौ ७ गते शनिबारको पहिलो सेमिफाइनल खेल दुई दावेदार टोली सराई फुटबल क्लब र दमकडा ब्रदर्श फुटबल क्लबबीच हुने खेल संयोजक हरि सिंह गाहाले जानकारी दिए ।
नव जागृति युवा क्लब, बगनाशकाली–१, घोरबन्दा, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही भदौ १० गतेका दिन हुनेछ ।