पिपरीचापा । एकतर्फी र उत्कृष्ट जितका साथ रुपन्देहीको कञ्चन गाउँपालिकामा सम्पन्न दोस्रो गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि रेन्बो एकेडेमीले जितेको छ ।
फाइनलमा रेन्बोले विश्व शान्ति युवा क्लबलाई ४–० को अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । रेन्बोको जितमा सुरज चौधरी र मिलन आले मगरले समान दुई–दुई गोल गरे ।
विजेता बनेको रेन्बोले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्दा उपविजेता विश्व शान्तिले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ पनि रेन्बो कै वर्चश्व रह्यो । फाइनल खेलको म्यान अफ दि म्याच रेन्बोका मिलन आले चुनिए । उत्कृष्ट गोलरक्षक रेन्बो कै भिम मगर बन्दा उत्कृष्ट डिफेन्डर पनि रेन्बो कै सुजित चौधरी चुनिए । त्यस्तै सर्वाधिक गोलकर्ता र प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी रेन्बोका सुरज चौधरीघोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकाल, विशिष्ठ अतिथी कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगर, आयोजक गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५, पिपरीचापाका अध्यक्ष कमल दर्जी लगायतले पुरस्कृत गरेका थिए ।
महिलाको महान चाड हरितालिका (तीज) को अवसर पारी गत साउन ३१ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक रोशन पुनले जानकारी दिए ।