माथागढी । झडेवा फुटबल क्लब, माथागढी गाउँपालिका–४, झडेवाको आयोजनामा शुरु भएको पाँचौं झडेवा कप खुला नकआउट फुटबल प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भएका छन् ।
प्रतियोगिताको पहिलो र उद्घाटन खेलमा भगवती फुटबल क्लबले केराबारी फुटबल क्लबलाई टाईब्रेकरमा ३–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
त्यस्तै दोस्रो खेलमा दद्रा फुटबल क्लबले ब्लाटर फुटबल क्लबलाई २–० ले हरायो । प्रतियोगिताको पहिलो दिन जित हात पारेका दुवै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
त्यसअघि प्रतियोगिताको उद्घाटन माथागढी गाउँपलिका अध्यक्ष यम बहादुर चिदी, माथागढी गाउँपालिका वार्ड नम्बर ४ का वार्ड अध्यक्ष शंकर दर्लामी तथा आयोजक क्लबका अध्यक्ष निश्चल श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।
यही भदौ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।