बुटवल । विजयादशमीको अवसर पारी जी ट्वान्टी फाईभ क्लब, बुटवलले आयोजना गरेको बुटवल उपमहानगर वार्डस्तरीय भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल अघि दुई मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शुक्रबार बिहान भएको आयोजक जी ट्वान्टी फाईभ क्लब, बुटवल र बैंकरहरुको समूह बीचको पहिलो मैत्रीपूर्ण खेलमा आयोजक टोली २–१ ले विजयी बन्यो ।
त्यस्तै शुक्रबार नै भएको दोस्रो मैत्रीपूर्ण खेलमा रुपन्देहीको पत्रकारहरुको टोलीले कन्सल्टेन्सी ग्रुपलाई शून्यका विरुद्ध १ गोलको अन्तरले पराजित गर्दै विजयी बन्न सफल भयो ।
खेलपश्चात एक कार्यक्रमका बीच सहभागि टोलीहरुलाई आयोजक जी ट्वान्टी फाईभ क्लबका अध्यक्ष जगदिश न्यौपाने, खेल संयोजक रमेश कुमार जोशी लगायतले पुरस्कृत गरेका थिए ।
स्मरण रहोस, जी ट्वान्टी फाईभ कप भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल पनि शुक्रबार नै अपरान्ह ३ बजेदेखि शुरु हुनेछ । जसमा उपाधिका लागि बुटवल ६ र बुटवल ११ ले प्रतिस्र्धा गर्ने खेल संयोजक रमेश कुमार जोशीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रापत गर्ने आयोजक क्लब कै अध्यक्ष जगदिश न्यौपानेले बताए ।