News सिद्धार्थलाई आदर्श कपको उपाधि
सुरज राना मगर

सैनामैना । सिद्धार्थ फुटबल क्लब, देवदहले रुपन्देहीको सैनामैनामा सम्पन्न प्रथम आदर्श कप नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा आयोजक आदर्श युवा क्लबलाई ३–२ ले हराउँदै सिद्धार्थले उपाधि चुमेको हो । सैनामैना–४ मुर्गिया लहरेपिपल स्थित आयोजकको खेलमैदानमा सम्पन्न खेलको २५औं मिनटमा सबी गुरुङको गोलबाट सिद्धार्थले खेलमा अग्रता लिएको थियो ।

सबीले कर्नर लाईनबाट गरेको प्रहार विपक्षी गोलरक्षकले सही रुपमा नियन्त्रणमा नलिंदा बलले पोष्टको जाली चुमेको थियो । यद्यपि ३४औं मिनटमा रेशम पुनले आयोजकका लागि गोल गर्दै खेललाई रोमाञ्चक १–१ को बराबरीमा ल्याएका थिए । पहिलो हाफ १–१ को बराबरीमै सकिए तापनि दोस्रो हाफमा सिद्धार्थले दुई गोल थप्न सफल भयो ।

सिद्धार्थका कप्तान मोहन थापाले ५५ र ७१औं मिनटमा लगातार दुई गोल गर्दै सिद्धार्थको जित पक्का गरेका थिए । उता ७८औं मिनटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका माधव शर्माले आयोजकका लागि दोस्रो फर्काए तापनि घरेलु टोलीलाई खेलमा फर्काउन भने सकेनन् ।

मोहन थापा सर्वोत्कृष्ट खेलाडी

फाइनल खेलको म्यान अफ द म्याच समेत चुनिएका सिद्धार्थ एफसीका कप्तान मोहन थापा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत चुनिए । उत्कृष्ट गोलरक्षक आयोजक आदर्शका मिलन सारु घोषित भए भने प्रतियोगिता भरि कुल ४ गोल गरेका आयोजक कै रेशम पुनले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे ।

अर्को बर्ष भव्य गराउँछौंः अध्यक्ष बस्नेत

समापन कार्यक्रममा बोल्दै आयोजक आदर्श युवा क्लबका अध्यक्ष कोषराज बस्नेतले प्रतियोगिताको आगामी संस्करणदेखि थप भव्य बनाउने योजना रहेको बताए । उनी भन्छन्, "प्रतियोगिता सफलताका साथ सम्पन्न भयो तर यसलाई आगामी संस्करणदेखि थप परिष्कृत रुपमा भव्य बनाउनेछौं ।" साथै प्रतियोगितालाई सफलताका सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई उनले धन्यवाद र आभार समेत प्रकट गरे ।

प्रतियोगिता संयोजक बिकास बस्नेतले पनि प्रतियोगिताको पहिलो संस्करणमा केही कमी कमजोरी भए त्यसलाई सच्याएर आगामी बर्षदेखि थप सभ्य र भव्यताका साथ प्रतियोगिता आयोजना गर्ने बताए ।

आयोजक क्लब कै उपाध्यक्ष प्रेम न्यौपानेको सञ्चालनमा भएको समापन कार्यक्रमको मुख्य अतिथी सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्की रहेका थिए ।

त्यस्तै सो अवसरमा विजयी खेलाडीहरुलाई विशिष्ट अतिथी नेपाली काँग्रेस रुपन्देहीका जिल्ला उपसभापति फणिन्द्र शर्मा, सैनामैना नगरपालिका वार्ड नम्बर ४ का अध्यक्ष धन बहादुर कार्की, सैनामैना नगरपालिका नेपाली काँग्रेसका नगर सभापति राम प्रसाद अधिकारी लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

Post Comments