सुकचर । प्रभावशाली जितका साथ चुलाचुली स्र्पोटिङ क्लब, दमक, झापा जारी पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा चुलाचुलीले पञ्चायन फुटबल क्लब, रामधुनी, सुनसरीलाई ५–२ को अन्तरले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
चुलाचुलीको जितमा आकाश राईले ह्याट्रिकसहित चार गोल गर्दा थप एक गोल रोमन भुजेलले गरे । उता पराजित पञ्चायनका लागि भने युगन राई र पुजन चौधरीले गोल फर्काएका थिए ।
खेलमा चार गोल गरेका चुलाचुलीका आकाश राई म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत असोज १५ गते बुधबारको दोस्रो सेमिफाइनल खेल तालतलैया फुटबल क्लब, इटहरी, सुनसरी र पूर्वाञ्चल युनाइटेड क्लब, हरैचा, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
नवयुवा क्लब सुकचर ११, बुढीगंगा–६, सुकचर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही असोज १८ गतेका दिन हुनेछ ।