पक्लिहवा । रुपन्देहीमा सम्पन्न प्रथम सिद्धार्थ एकेडेमी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि माछापुच्छ्रे फुटबल क्लबले जितेको छ ।
मंगलबार सम्पन्न फाइनलमा माछापुच्छ्रेले जागृति युवा क्लबलाई १–० को साँघुरो अन्तरले हराउँदै उपाधि उचाल्न सफल भएको हो । सिद्धार्थनगर–२ पक्लिहवा स्थित पक्लिहवा कृषि क्याम्पसमा सम्पन्न खेलमा माछापुच्छ्रेका लागि आयुष गुरुङले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।
विजेता बनेको माछापुच्छ्रेले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता जागृतिले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक माछापुच्छ्रेका युगल थापा बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार जागृतिका अंकित रास्कोटीले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने माछापुच्छ्रेका सरुन थापा घोषित भए ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष छेदीलाल श्रीवास्तव, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, माछापुच्छ्रे फुटबल क्लबका अध्यक्ष युवराज थापा, वरिष्ठ अभियन्ता कुमार थापा, आयोजक सिद्धार्थ फुटबल एकेडेमीका व्यवस्थापक प्रिन्स गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।