मटेरी । आयोजक एलजी एसोसिएशन (सेतो), भगवती फुटबल क्लब र फ्रेण्डस क्लब यहाँ जारी लालीगुराँस कप राष्ट्रिय यु–१९ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
रामपुर नगरपालिका–५, मेटरी स्थित खेलमैदानमा भएको दिनको पहिलो खेलमा एलजी (सेतो) ले डेडगाउँ एफसीलाई ९–० को फराकिलो अन्तरले हरायो । खेलमा एलजी (सेतो) का सुनिल थापा म्यान अफ दि म्याच बने ।
दोस्रो खेलमा भगवतीले भुपु चोक क्लबलाई २–० ले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गर्यो । खेलमा भगवती कै दान बहादुर बुढा मगर म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै अन्तिम खेलमा फ्रेण्डस क्लबले मकवानपुर–६ लाई पेनाल्टी शुटआउटमा हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि फ्रेण्डसले पेनाल्टीमा नतिजा आफ्नो पक्षमा पारेको हो । खेलमा फ्रेण्डसका अस्मिर गोम्बा म्यान अफ दि म्याच बने ।
एलजी ९लालीगुराँस० एसोसिएशन, रामपुर, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यही असोज २५ गतेका दिन हुनेछ ।