रामपुर । साविक विजेता युनाइटेड युथ क्लब, गिरुबारी, नवलपुर यहाँ जारी वाईवाई तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो क्वाटरफाइनलतर्फ युनाइटेडले समपुर्ण युवा क्लब, सुपौली, रुपन्देहीलाई ६–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
युनाइटेडका लागि अनिल राना मगरले ह्याट्रिक गर्दा यम प्रसाद बुढा मगर, लक्षु थापा मगर र चुडामणी खाम्चा मगरले समान एक–एक गोल गरे । उता पराजित समपुर्णका लागि भने दर्शन बिकले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
खेलको म्यान अफ दि म्याच युनाइटेडका ह्याट्रिककर्ता अनिल राना मगर बने । त्यस्तै रेडबुल इनरजेटिक प्लेयर अफ दि म्याचको पुरस्कार युनाइटेड युथ कै लक्षु थापा मगरले हात पारे ।
प्रतियोगिता अन्तर्गत असोज ३० गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल अभिषेक चर्च एफसी, रजहर, नवलपुर र हिमालयन शेर्पा क्लब, काठमाडौंबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।
ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले २ लाख सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ३ गतेका दिन हुनेछ ।

