लक्ष्मीमार्ग । प्लानिङ ब्वाईज युनाइटेड क्लब, काठमाडौं यहाँ जारी स्व. मेजर एन.बी. रुङमाङ स्मृति आरजु राईस आठौं बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा प्लानिङ ब्वाईजले घरेलु टोली एल.एक्स. सिटी क्लब, लक्ष्मीमार्ग, मोरङलाई ३–० ले पराजित गर्दै उपाधि नजिक पुग्न सफल भएको हो ।
प्लानिङ ब्वाईजको जितमा चन्दन दास, प्रताप कुमार राई र रोमन भुजेलले समान एक–एक गोल गरे । खेलको म्यान अफ दि म्याच भने प्लानिङ ब्वाईज कै रोमन भुजेल बने । उनले त्यसवापत नगद ७ हजार र ट्रफी हात पारे ।
खेलमा अन्तिमतिर प्लानिङ ब्वाईजका कप्तान गौरव श्रेष्ठले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिदा टोली दश खेलाडीमा खुम्चिएको थियो । यद्यपि त्यसले प्लानिङ ब्वाईजको जितलाई बाधा पुर्याउन सकेन ।
प्रतियोगिता अन्तर्गत असोज ३१ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल भोजपुर जिल्ला फुटबल संघ, भोजपुर र सलहेश युवा क्लब, सिरहाबीच हुने आयोजकले जानकारी दियो ।
एल।एक्स। सिटी फुटबल क्लब, बेलबारी, भोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक १ गतेका दिन हुनेछ ।