लक्ष्मीमार्ग । एल.एक्स. सिटी क्लब, लक्ष्मीमार्ग, मोरङको आयोजनामा सम्पन्न स्व. मेजर एन.बी. रुङमाङ स्मृति आरजु राईस आठौं बेलबारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाईज युनायटेड क्लब, काठमाडौंले जितेको छ ।
फाइनलमा प्लानिङ ब्वाईजले सलहेश युवा क्लब, सिरहालाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । प्लानिङ ब्वाईजका लागि दुवै गोल सुजन मगरले गर्दा सलहेशका लागि भने समिर तामाङले गोल गरेका थिए ।
विजेता बनेको प्लानिङ ब्वाईजले उपाधिसहित नगद नगद ८ लाख हात पार्यो भने उपविजेता सलहेशले ४ लाखसहित ट्रफी, मेडलमा चित्त बुझायो । सलहेशका समिर तामाङ फाइनल खेलको म्यान अफ दि म्याच बने । उनले त्यसवापत नगद ७ हजार र ट्रफी हात पारे ।
अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक प्लानिङ ब्वाईजका योगेश धिमाल बन्दा उत्कृष्ट डिफेन्डर पनि प्लानिङ ब्वाईज कै निग्मा घिसिङ चुनिए । उत्कृष्ट मिडफिल्डर पनि प्लानिङ ब्वाईज कै रोमन भुजेल बन्दा उत्कृष्ट प्रशिक्षक पनि प्लानिङका सचिन्द्र धिमाल बने ।
सर्वाधिक गोलकर्ताको पुरस्कार भने प्लानिङका सुजन मगर र सलहेशका आदित्य शाक्यले संयुक्त रुपमा हात पारे । प्रतियोगिताभर दुवैले समान २–२ गोल गरेका थिए । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही ११–११ हजार र ट्रफी प्राप्त गरे ।
त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने प्लानिङ ब्वाईजका प्रताप सिंह राई घोषित भए । उनले त्यसवापत नगद २५ हजार र ट्रफी हात पारे । विजेता तथा उपविजेता खेलाडीहरुलाई बेलबारी नगरपालिका, मोरङका मेयर दिल दिल प्रसाद राई लगायतले पुरस्कृत गरेका थिए ।