News आयोजक ज्योतिपुञ्जलाई वाईवाई तेस्रो ज्योतिपुञ्ज कपको उपाधि
गोलनेपाल

रामपुर । साँघुरो अन्तरको जितका साथ यहाँ सम्पन्न वाईवाई तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर, पाल्पाले जितेको छ ।

सोमबार सम्पन्न फाइनलमा ज्योतिपुञ्जले साविक विजेता युनाइटेड युथ क्लब, गिरुबारी, नवलपुरलाई १–० को अन्तरले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

रामपुर नगरपालिका–७, किसानबारी स्थित प्रस्तावित ज्योतिपुञ्ज रंगशालामा भएको खेलको ७३औं मिनटमा सुमित श्रेष्ठले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

विजेता बनेको ज्योतिपुञ्जले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्यो भने उपविजेता युनाइटेड युथले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

ज्योतिपुञ्जका सुमित श्रेष्ठ फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । त्यस्तै रेडबुल प्लेयर अफ दि म्याच ज्योतिपुञ्ज कै जय गुरुङ बने । त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक ज्योतिपुञ्जका सरोज तामाङ बन्दा उत्कृष्ट डिफेन्डर युनाइटेड युथका सुमित मल्लाह चुनिए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार देवदह ब्वाईजका आशिष क्षेत्रीले हात पार्दा प्रतियोगिताको राइजिङ प्लेयर युनाइटेड युथका यम प्रसाद बुढा मगर घोषित भए । त्यसैगरी उत्कृष्ट प्रशिक्षक ज्योतिपुञ्ज कै केशवराज श्रेष्ठ बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी ज्योतिपुञ्जका आशिष गुरुङ घोषित भए ।

Post Comments