News ताप्लेजुङमा जारी मेरिङदेन कपः नवज्योतीको शानदार जित, जनसेवा अन्तिम चारमा
गोलनेपाल

खाम्लुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा जारी पॉचौ अन्तर जिल्ला स्तरीय आमन्त्रित मेरिङदेन कप पुरूष फुटबलको दोस्रो दिन दुइ खेल सम्पन्न भएका छन ।

पृथ्वी तथा लेस्नमाया स्मृती खेलमैदानमा शनिबार सम्पन्न पहिलो खेलमा सनराईज क्लब सॅाघुलाई सडन डेथमा ४-३ गोलले पराजित गर्दै नवज्योति युवा क्लब मेरिङदेन क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुबै टिमबाट तीन तीन गोलको बराबरी,पेनाल्टि सुट आउटमा पनि तीन तीन गोलको बराबरी भएपछि नतिजा सडन डेथ मार्फत निकालिएको थियो । खेलको प्लेर अफ दि म्याच नवज्योतिका सन्त लिम्बु घोषित भए ।

त्यस्तै शनिबार नै सम्पन्न दोस्रो खेल अर्थात क्वाटर फाइनलको पहिलो खेलमा जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुंगेसॅाघुले तेल्लोक स्पोर्टिङ क्लब सिरिजंघालाई २-० गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

जनसेवाको जितका लागि शिसिर राइ र दिपेश लिम्बुले एक एक गोल गरे । खेलको म्यान अफ दि म्याच शिशिर राइ घोषित भए । दुबै खेलका म्यान अफ दि म्याचले एक एक हजार प्राप्त गरे ।

प्रतियोगिताको तेस्रो दिन आइतबार क्वाटर फाइनलका दुइ खेल हुने खेल तालिका रहेको छ । पहिलो खेल १२ः३० बजे मानाभरा युथ स्पोर्टिङ क्लब र साथीभाइ युथ क्लब भिडनेछन भने दोस्रो खेलमा मेरिङदेन युवा क्लब र जिरिखिम्ति युथ क्लब तेह्रथुम बिच प्रतिस्पर्धा हुनेछ ।

दिपावलीको अवसरमा पृथ्वी तथा लेस्नमाया स्मृती युवा क्लबले आयोजना गरेको प्रतियोगिता कार्तिक १२ गते सकिनेछ । विजेताले १ लाख ५१ हजार १८२ सहित ट्रफि र उपविजेताले ८१ हजार १८२ सहित ट्रफि प्राप्त गर्नेछ ।

Post Comments