News चौथो युथ युनियन कप हुने
सुरज राना मगर

रामपुर । पाल्पाको रामपुरमा चौथो युथ युनियन कप नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । यहि माघ २६ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।

रामपुर–५ पाल्पा स्थित मटेरी ठूलोटारमा हुने प्रतियोगितामा १६ टोलीहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक साजन चन्द ठकुरीले बताए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक युथ युनियन मटेरी, रामपुर पाल्पाका अध्यक्ष राम बहादुर रानाले बताए ।

अध्यक्ष रानाका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ३ हजार सहित ट्रफी पनि हात पार्नेछ । साथै अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि ट्रफी सहित नगद ३–३ हजारका दरले पुरस्कृत गरिने अध्यक्ष रानाले जानकारी दिए । यद्यपि उत्कृष्ट प्रशिक्षकलाई भने नगद २ हजार प्रदान गरिने खेल संयोजक ठकुरीले बताए ।

आउँदो फागुन १ गतेसम्म आयोजना हुने प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक ठकुरीले बताए । पाल्पा जिल्ला भित्रका स्थानीय खेलाडीहरुलाई फुटबलमा अवसर प्रदान गर्न क्लबले पछिल्लो केही बर्षदेखि निरन्तर फुटबल प्रतियोगिता आयोजना गर्दै आएको र यसलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने अध्यक्ष रानाले बताए ।

 

Post Comments