News आयोजक सन्जिवनी क्वाटरफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । आयोजक सञ्जिवनी युवा क्लब जारी चौथो सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ सञ्जिवनीले फर्साटिकर एकेडेमीमाथि २–१ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

तिलोत्तमा–१४ बाघधुरा, देवीनगर स्थित आयोजक क्लबको खेलमैदानमा भएको खेलको २७औं मिनटमा केशव थापाको गोलबाट आयोजकले खेलमा अग्रता बनाएको थियो । त्यस्तै दोस्रो हाफको आठौं मिनटमा युकेश छन्त्यालले आयोजकका लागि दोस्रो गोल गरे जुन निर्णायक गोल पनि बन्यो ।

उता फर्साटिकर एकेडेमीका लागि नजेन्द्र चालिसेले खेलको अन्तिमतिर एक मात्र सान्त्वना गोल फर्काए । खेलको म्यान अफ द म्याच भने आयोजक सञ्जिवनीका अनुप बुढाथोकी घोषित भए । उनलाई आयोजक क्लबका संरक्षक तथा समाजसेवी क्याप्टेन भुपाल सिंह छन्त्यालले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत माघ १८ गते आइतबारको प्रिक्वाटरफाइनल खेल सम्पूर्ण युवा क्लब र झरना स्पोर्टस क्लबबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बाघधुरा देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो फागुन १ गतेका दिन हुनेछ ।

Post Comments