काठमाडौं । फिफा विन्डोमा नपरेको नेपाल र भारत बीच बुधबार सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी शुटआउटमा हरायो । भारत विरुद्ध शिलोङमा हात पारेको २–० को जितमा त्यति रमाउन नपाउँदै नेपालले बुधबार सिक्किममा फेरी भारतलाई नै लगातार दोस्रो खेलमा हराउँदै दोहोरो खुशी आत्मसाथ गर्यो ।
भलै नेपाल र भारतले आफ्नो केही मुख्य खेलाडीहरु बिना उत्रिए तापनि सिक्किमेली मैदानमा खेलको रोमाञ्च र रौनक पनि भव्य रह्यो । भारतलाई उसकै घरमा लगातार दुईपटक हराउनु नेपालका लागि थप विशेष पनि बन्यो ।
बुधबार सिक्किमको गाङ्तोक स्थित पालजोर रंगशालामा नेपाल र भारतले निर्धारित समयको खेल १–१ को बराबरी खेलेका थिए । खेलमा शुरुवाती अग्रता भारतले नै लिएको थियो । ३०औं मिनटमा सौम्या गुगुलोथको गोलबाट भारतले खेलमा अग्रता बनाए पनि पहिलो हाफ कै अतिरिक्त समयमा रश्मी कुमारी घिसिङले बराबरी गोल फर्काएकी थिईन् ।
टाईब्रेकरमा भने नेपालले ३–० को जित हात पार्यो । पेनाल्टी शुटआउटमा गोलरक्षक अन्जना राना मगर नायक साबित भईन् । भारतीय खेलाडीको दुई पेनाल्टी प्रहार जोगाउँदै अन्जनाले नेपालको जितमा अन्तिम समयतिर अहम भूमिका खेलिन् । स्मरण रहोस, अन्जनाले शिलोङमा भएको मैत्रीपूर्ण खेलमा पनि भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेकी थिईन् ।