News तस्मानियामा सर्वाधिक ठूलो पुरस्कार राशीको चौथो एनएफसीटी इन्टरस्टेट टुर्नामेन्ट हुँदै
गोलनेपाल

तस्मानिया, , होबर्ट । नेपाली फुटबल क्लब तस्मानिया (NFCT) ले चौथो एनएफसीटी इन्टरस्टेट टुर्नामेन्ट आयोजना गर्ने भएको छ । आगामी १३ डिसेम्बरमा होबार्टस्थित कर्नेलियन बे ओभल (Cornelian Bay Oval) मैदानमा यो वृहत् प्रतियोगिता आयोजना हुने भएको हो ।

यसमा कुल १३ हजार २०० अस्ट्रेलियन डलरभन्दा बढी पुरस्कार राशीको रहेको छ । यो तस्मानियामा अहिलेसम्म आयोजना भएका नेपाली खेलकुद कार्यक्रममध्येकै सर्वाधिक ठूलो नगद पुरस्कार राशी भएको क्लबले जनाएको छ ।

क्लबका अनुसार यो प्रतियोगिताको मुख्य प्रायोजक का रूपमा 'VXL Education and Visa Services' रहनेछ ।साथै सहप्रायोजकमा 'Aussie Finance and Home Loans Tasmania' रहेको छ।

एनएफसीटीका सचिव सुभास खतिवडाले 'VXL Education and Visa Services' र 'Aussie Finance and Home Loans Tasmania' को निरन्तर सहयोग र समर्थनले गर्दा नै यति ठूलो स्तरको प्रतियोगिता आयोजना गर्न सम्भव भएको बताउँदै प्रायोजकप्रति हार्दिक आभार व्यक्त गरे ।

सन् २०१९ मा औपचारिक रूपमा स्थापना भए पनि सन् २०१४ देखि नै फुटबल गतिविधिहरू सञ्चालन गर्दै आएको एनएफसीटीले होबार्टको सबैभन्दा पुरानो नेपाली फुटबल क्लबका रूपमा परिचित छ । उक्त क्लबमा हाल करिब १०० जना सक्रिय सदस्यहरू संलग्न छन् ।

विगत ६ वर्षमा तीन सफल प्रतियोगिता सम्पन्न गरिसकेको एनएफसीटीले यस वर्षको चौथो संस्करणलाई अझ भव्य बनाउँदै राष्ट्रिय स्तरको प्रतिस्पर्धामा लैजाने तयारी गरेको छ। सचिव सुभासका अनुसार यसपटकको प्रतियोगिता केवल होबार्टमा सीमित नभई अस्ट्रेलियाभर रहेका नेपाली फुटबल क्लबहरूबीच प्रतिस्पर्धा गराउने गरी आयोजना गरिँदैछ ।

प्रतियोगिताको नगद पुरस्कार विवरण अनुसार विजेता टोलीले सर्वाधिक ८,००० अस्ट्रेलियन डलर र उपविजेताले ४,००० डलर प्राप्त गर्नेछन् । यसबाहेक प्लेयर अफ दि टुर्नामेन्टलाई ३०० डलर र उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर तथा उत्कृष्ट डिफेन्डर प्रत्येकलाई २०० डलरसहित ट्रफीको व्यवस्था गरिएको छ । त्यस्तै फाइनल खेलको म्यान अफ दि म्याचका लागि १०० अस्ट्रेलियन डलर पुरस्कार दिइने आयोजकले जनाएको छ ।

यस्ता स्तरका प्रतियोगिताको आवश्यकता महसुस गरिएको अवस्थामा एनएफसीटीले तस्मानिया राज्य सरकार र स्थानीय प्रशासनसँग निरन्तर संवाद गरेको थियो । परिणाम स्वरूप राज्य सरकारले प्रतियोगिता आयोजनाका लागि आर्थिक सहयोगको प्रतिबद्धता जनाएको छ । यसले तयारीलाई सहज बनाएको आयोजकको भनाइ छ । राज्य सरकार मात्र नभई स्थानीय राजनीतिक व्यक्तित्व र समुदायका प्रतिनिधिबाट समेत नेपाली समुदायप्रति सद्भावपूर्ण सहयोग प्राप्त भइरहेको क्लबले जनाएको छ ।

एनएफसीटीले पछिल्लो समय क्लबको व्यावसायिकतामा उल्लेख्य सुधार ल्याएको जनाएको छ । क्लबका प्रशिक्षक दिलीप श्रेष्ठका अनुसार विगत दुई वर्षदेखि नेपालको ए-डिभिजन लिग खेलिसकेका तथा व्यावसायिक रूपमा थुप्रै युवा खेलाडीलाई प्रशिक्षण गराएका बुद्ध महर्जनले सक्रिय भूमिका निभाएका थिए ।

उनको मार्गदर्शन र अनुभवका कारण खेलाडीहरूको शारीरिक तन्दुरुस्तीमा उल्लेखनीय सुधार आएको श्रेष्ठले बताए । यसैको परिणाम स्वरूप हाल क्लबमा राष्ट्रिय स्तरका खेलाडी पनि आबद्ध हुन सफल भएका छन् र उनीहरूलाई पनि सहज रूपमा कोचिङ गर्न सफल भएको प्रशिक्षक श्रेष्ठको भनाइ छ ।

Post Comments