News चार गोल गर्दै झरना क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । प्रभावशाली जित निकाल्दै झरना स्पोर्टस क्लब जारी चौथो सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ झरनाले सम्पुर्ण युवा क्लबलाई ४–२ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो ।

तिलोत्तमा–१४ बाघधुरा देवीनगर स्थित आयोजकको खेलमैदानमा भएको खेलको दोस्रो मिनटमै सबी गुरुङको गोलबाट सम्पूर्णले खेलमा अग्रता बनाएको थियो । यद्यपि लगतै झरनाले पनि पेनाल्टीको अवसर पाएको थियो । झरनाका कप्तान ओम प्रकाश थापाले गरेको पेनाल्टी प्रहार विपक्षी गोलरक्षकले जोगाए तापनि रिबाउण्ड भएको सोही बललाई थापाले गोलमा परिणत गर्न सफल भएका थिए ।

त्यस्तै पहिलो हाफ कै इन्जुरी समयमा निशान सुनारले झरनाका लागि दोस्रो गोल थपे । त्यसपछि मध्यान्तरपछिको पहिलो मिनट मै अजय थापाले झरनाका लागि तेस्रो गोल गरे भने त्यसको १५ मिनट पछि रोहित सुनारले चौथो गोल गर्दै झरनाको जित पक्का गरे । उता खेलको अन्तिमतिर झरनाका नविन थापाले आत्मघाती गोल गरे तापनि खेलमा झरना ४–२ ले विजयी हुन सफल भयो ।

आइतबारको खेलको म्यान अफ द म्याच भने झरना स्पोर्टस क्लब कै संगम थापा घोषित भए । प्रतियोगिता अन्तरगत माघ १९ गते सोमबारको खेल योङ स्टार एफसी र द राईजिङ क्लबबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बाघधुरा देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले बताए । फाइनल खेल आउँदो फागुन १ गतेका दिन हुनेछ ।

 

Post Comments