केराबारी । खदम फुटबल क्लब र आयोजक युनाइटेड युथ क्लब यहाँ जारी प्रथम आहाले कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार केराबारी–६, मोरङ स्थित स्थानीय खेलमैदानमा भएको पहिलो सेमिफाइनलतर्फ खदमले केराबारी फुटबल क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै फाइनल यात्रा तय गर्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा खदम विजयी बनेको हो । खेलमा सन्तोष न्यौपाने म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै बिहीबार नै भएको दोस्रो सेमिफाइनलमा आयोजक युनाइटेड आहालेले सिद्धार्थ युवा क्लबमाथि टाईब्रेकरमा ४–३ को जित निकाल्दै फाइनल स्थान पक्का गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा रोशन कार्की म्यान अफ दि म्याच बने ।
अब यही कार्तिक २२ गते शनिबार हुने फाइनलमा खदम फुटबल क्लब र आयोजक युनाइटेड आहाले युथ क्लब उपाधिका लागि भिड्ने छन् । युनाइटेड आहाले युथ क्लब र आहाले सामुदायिक वन, केराबारी–६, मोरङको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ६५५५५ र उपबिजेताले ३५५५५ प्राप्त गर्नेछ ।