हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा चित्लाङ फुटबल क्लब काठमाण्डौ सेमिफाइनलमा प्रवेश गर्दै आगामी राष्ट्रिय लिगका लागि छनोट भएको छ।
लिग चरणको अन्तिम खेलमा चित्लाङले जनजागृति युवा क्लब बर्दियालाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। चित्लाङको जितमा विज्ञान खड्का र मदन स्याङतानले एक–एक गोल गरे। उत्कृष्ट प्रदर्शन गर्ने चित्लाङका जय गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए। यसैगरी, आजै भएको दोस्रो खेलमा देउराली युथ क्लब धनकुटा र लालिगुरास एसोसिएसन पोखराबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। खेलमा दुबै टिमले अवसर सिर्जना गरे पनि गोल गर्न भने सफल हुन सकेनन्। उक्त खेलमा देउरालीका कप्तान पदम भट्टराई ‘प्लेयर अफ द म्याच’ बने।
समूह ‘ए’ को खेल सकिँदा लालिगुरास एसोसिएसन पोखरा र चित्लाङ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गर्दै राष्ट्रिय लिगका लागि छनोट भएका छन्। समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने टिमहरूको टुंगो भने शुक्रबार लाग्नेछ। एन्फाको आयोजनामा भइरहेको प्रतियोगिता लिग कम नकआउट को आधारमा सञ्चालन भइरहेको छ।
प्रतियोगितामा देशभरका १० टिम सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन्। प्रतियोगिताको विजेता टोलीले उपाधिसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ। सेमिफाइनलमा पुगेका टोलीहरू आगामी पुस महिनामा हुने राष्ट्रिय लिगमा सहभागी हुनेछन्।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान