सुपौली । साविक विजेता सिम्रिक युवा क्लब, बुटवल रुपन्देहीमा जारी स्व. लालबहादुर पुन र राजकुमार पुन स्मृति चौथो समपुर्ण कपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा सिम्रिकले लिस्नु युवा क्लब, कोटिहवालाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।
सिम्रिकको जितमा मिलन आले मगरले ह्याट्रिक गरे । उता पराजित लिस्नुका लागि भने फोडे फोफनाले एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलमा ह्याट्रिक गरेका सिम्रिकका मिलन आले म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत मंसिर ३ गते बुधबारको पहिलो सेमिफाइनल खेल झरना स्पोर्टस क्लब, कुञ्जलापुर र कपिलवस्तु–११, कपिलवस्तु बीच हुने प्रचार प्रसार संयोजक रवी अर्याललेृ जानकारी दिए ।
समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौली, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,१५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने मंसिर ६ गतेका दिन हुनेछ ।