परहट्टी । डिएस युनाइटेड, दिपनगर रुपन्देहीमा जारी तेस्रो सिद्धार्थ कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
बुधबार भएको चौथो प्रिक्वाटरफाइनलमा डिएस युनाइटेडले शिवपुर युवा परिवार, शिवपुरलाई ३–२ ले हराउँदै अन्तिम आठमा स्थान बनाउने अन्तिम टोली बनेको हो ।
तिलोत्तमा नगरपालिका–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको खेलमा डिएसका लागि अनुप गुरुङ, आकाश गुरुङ र निर्मल मगरले गोल गरे । उता पराजित शिवपुरका लागि भने सबिन केसी र अशोक सुनारले गोल गरेका थिए ।
खेलमा डिएस युनाइटेडका गोलकर्ता अनुप गुरुङ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर ११ गते बिहीबारको पहिलो क्वाटरफाइनल खेल आयोजक सिद्धार्थ क्लब, चपरहट्टी र न्यु होराईजन स्पोर्टस क्लब, बुटवल बीच हुने खेल संयोजक युवराज थापाले जानकारी दिए ।
सिद्धार्थ क्लब, तिलोत्तमा–१, चपरहट्टी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १९ गतेका दिन हुनेछ ।