News सहारा युकेद्वारा एकेडेमीका बालकहरुलाई फुटसल बुट
सुदर्शन रञ्जित

पोखरा । नेपाली फुटबलमा मोफसलमा रहेर पनि राम्रो छाप छोड्न सफल सहारा क्लब, पोखराको भातृ संस्था सहारा युकेले सहारा एकेडेमीमा आश्रित बालकहरुलाई फुटसल बुटहरु प्रदान गरेको छ ।

सहारा युकेका अध्यक्ष कुमार गुरुङ, महासचिव धनु थकाली (पुरन), उपाध्यक्ष कुशाङ गुरुङ, तथा सहारा एफसीका अध्यक्ष कृष्ण गुरुङको पहलमा उक्त फुटसल बुटहरु एकेडेमीका बालकहरुलाई प्रदान गरिएको हो ।

सहारा युकेका महासचिव थकालीले एक कार्यक्रमका बीच एकेडेमीमा रहेका आश्रित बालकहरुलाई फुटसल बुट हस्तान्तरण गरे । मोफसलमा व्यस्त बनिरहेको फुटसललाई पनि ध्यानमा राख्दै एकेडेमीका १० बालकहरुलाई फुटसल बुट हस्तान्तरण गरिएको सहारा युकेका महासचिव थकालीले बताए ।

सो अवसरमा महासचिव थकालीले खेलाडीहरुलाई फुटबलसँगै फुटसलमा पनि अभ्यस्त हुन जोड दिए । खेलाडीहरुलाई पोखरा ४ स्थित स्पोर्टस क्यासल फुटसल एरिनामा लगेर फुटसलको आधारभुत ज्ञान र प्रशिक्षण समेत दिइएको थियो ।

एन्फाले आगामी बर्षदेखि फुटसल लिग पनि आयोजना गर्ने घोषणा गरिसकेको छ र त्यसका लागि मिति पनि तोकिसकेको छ । फुटसल लिगका अन्तिम चरणका खेलहरु पोखरा मै हुने समेत निश्चित भइसकेको छ ।

स्मरण रहोस, सहारा क्लब पोखराले विपन्न वर्गका २५ बालकहरुलाई निःशुल्क खान, बस्न र अध्ययनसहित फुटबल प्रशिक्षण पनि दिंदै आइरहेको छ । साथै मोफसलमा प्रतिष्ठित बनेको आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता पनि सहारा क्लबले आयोजना गर्दै आइरहेको छ ।

Post Comments