News प्रभावशाली जितका साथ फर्साटिकर क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । प्रतियोगिताको बलियो प्रत्याशी मानिएको फर्साटिकर युवा क्लब रुपन्देहीमा जारी चौथो सञ्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको प्रिक्वाटरफाइनलतर्फ फर्साटिकरले डिफेन्डिङ च्याम्पियन खुकुरी फुटबल क्लबलाई ३–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । तिलोत्तमा–१४ बाघधुरा स्थित आयोजक क्लबको खेलमैदानमा सम्पन्न खेलको २१औं मिनटमा मुकेश कुँवरको सुन्दर फ्रिकिक गोलबाट फर्साटिकरले खेलमा अग्रता बनाएको थियो ।

त्यस्तै दोस्रो हाफको १३औं मिनटमा टिकाराज गुरुङले बक्स भित्रबाट गरेको कडा प्रहार गोलमा परिणत हुँदा फर्साटिकरले त्यो अग्रता दोब्बर पार्न सफल भएको थियो । त्यस्तै दोस्रो हाफको २२औं मिनटमा बिसु थापाले फर्साटिकरका लागि तेस्रो गोल गर्दा टोलीको जित सुनिश्चित बनेको थियो ।

उता पराजित खुकुरीका लागि तेस्रो गोल खाएको तीन मिनट लगतै कृपा चौधरीले एक गोल फर्काए तापनि साविक विजेता खुकुरी खेलमा फर्कन सकेन । मंगलबारको खेलको म्यान अफ द म्याच पराजित खुकुरी कै कृष्ण बलाल घोषित भए । उनलाई तिलोत्तमा–१४ बाघधुरा देवीनगर टोल विकास समितिका सदस्य तथा समाजसेवी मोहन बस्यालले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत माघ २१ गते बुधबारको प्रिक्वाटरफाइनल खेल अमुवा फुटबल क्लब र नव एकता युवा क्लबबीच हुने खेल संयोजक खिम थापाले बताए । सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बाघधुरा देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार हात पार्ने आर्थिक संयोजक इन्द्र कुमार थापाले बताए । फाइनल खेल आउँदो फागुन १ गतेका दिन हुनेछ ।

 

Post Comments